गायिका कविता अर्यालको नयाँ तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एक विशेष समारोहबीच गीत विमोचन गरिएको हो । कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा तथा गायक–संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
समारोहमा गायक बद्री पंगेनी, गायक पशुपति शर्मा, निर्देशक शंकर बिसी, संस्थापक अध्यक्ष गोविन्द गिरी, पूर्व अध्यक्ष हरिबल्लभ नेपाल लगायतको उपस्थिति थियो । मुख्य अतिथि रायमाझीले तीजमा मौलिकताको महत्व औंल्याउँदै प्रत्येक कलाकारले आत्मसेन्सर गर्नु पर्ने धारणा राखे । विशिष्ट अतिथि शर्मा भने आजको महिलालाई सशक्त बनाउने गीतको सन्देश महत्वपूर्ण रहेको बताए ।
गायक पंगेनीले गीतको मौलिकता र भावबोधको प्रशंसा गर्दै चलचित्रमा जस्तै संगीत क्षेत्रमा पनि सेन्सर आवश्यक भएको बताए । निर्देशक बिसीले सबै पक्षको जिम्मेवारीबाट मात्र मौलिकता जोगिन सक्ने विचार राखे । गीतकार तथा संगीतकार रमेश परियारले मौलिक सिर्जना टिमसँग जोडिन पाउँदा गर्व लागेको बताए भने गायिका कविता अर्यालले सधैं मौलिकतामा जोड दिँदै आफ्ना सिर्जना सार्वजनिक गर्दै आएको बताइन् । https://www.youtube.com/watch?v=4U0dpmCMKgs&authuser=0
कार्यक्रमका सभापति चन्द्रमणि गौतमले मौलिक गीतहरूको संरक्षण र प्रवर्द्धनमा संस्थाको संलग्नता स्पष्ट पार्दै आवश्यक परेको अवस्थामा गृह मन्त्रालय र साइबर ब्यूरोसम्मको सहारा लिनुपरेको जानकारी दिए । गीत ‘श्रीमानज्यू’ कविता अर्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा कृष्ण केसीको संगीत संयोजन, खडक बाजुरालीको मिक्सिङ–मास्टरिङ, शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी, दुर्गा पौडेलको छायांकन र नविन घर्तीको सम्पादन रहेको छ ।
भिडियोमा मोडल लोसिना लामिछानेको नृत्य देख्न सकिन्छ । कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष हरि दुलालको जन्मदिनको अवसरमा केक काटी खुशीयाली मनाइएको थियो। उनले संस्थाको कल्याणकारी कोषका लागि ११,१११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।




