अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गरेकी छन्। चर्चित गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ तीज गीत ‘नाइँ भनेसी नाइँ’ बाट उनले म्युजिक भिडियोमा पुनरागमन गरेकी हुन् । गीतको पहिलो झलक (फर्स्टलुक पोस्टर) आज सोमबार सार्वजनिक गरिएको छ, जहाँ रेखा थापा दुर्गामाताको अवतारमा देखिएकी छन् । हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा प्रस्तुत गरिएको यो अवतार शक्तिशाली महिला प्रतीकको रूपमा देखिएको छ ।
पोस्टरमा “यसपाली तीजमा हरामीहरूका विरुद्ध सुपरस्टार रेखा थापा” भन्ने वाक्य लेखिएको छ, जसले गीतको सामाजिक सन्देशलाई झल्काउँछ। लामो समयपछि रेखाको उपस्थितिले दर्शकलाई ठुलो सरप्राइज दिएको छ । गीतमा शब्द तथा संगीत स्वयं प्रकाश सपुतकै रहेको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन् । गलबन्दी प्रोडक्सनले निर्माण गरेको गीत आगामी साउन १६ गते, शुक्रबार सार्वजनिक गरिने जानकारी दिएको छ ।
महिला हिंसा, अन्याय र अत्याचार विरुद्धको कथावस्तुमा आधारित यो गीतले तीजलाई केवल नाचगानमा सीमित नराखी, सामाजिक चेतनाको माध्यम बनाउने संकेत गरेको छ । अभिनेत्री रेखा थापा यसअघि पनि सामाजिक मुद्दामा आधारित फिल्म र अभियानमा सक्रिय रहिएकी थिइन्। अब भने उनले सांगीतिक क्षेत्रमा फर्किएर फेरि एकपटक महिला सशक्तीकरणको पक्षमा आवाज उठाएकी छिन् ।




