साउन महिनासँगै नेपाली सांगीतिक बजारमा तीज गीतहरूको बहार सुरु भएको छ। यही क्रममा चर्चित गायिकाहरू रचना रिमाल, एलीना चौहान, इन्द्रकला राईको स्वरमा सजिएको नयाँ तीज गीत ‘बामरी बसायो’ सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द, संगीत र निर्माणमा तयार पारिएको उक्त गीतले नेपाली नारीहरूको महान चाड तीजको उमंग र उत्सवलाई झल्काउँछ ।
गीतमा महिलाहरूको बिचको आपसी संवाद, रमाइलो नृत्य, उत्सव र संस्कृतिको जीवित झल्को पाइन्छ । गीतको भिडियोमा परम्परागत तीजको भेषभूषा, सांस्कृतिक सजावट, झकिझकाउ साडी र मौलिक नेपाली भाव झल्काइएको छ । भिडियोमा गायिकाहरूको अभिनयसँगै आकर्षक कोरियोग्राफी प्रस्तुत गरिएको छ ।
गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको छ भने छोटो समयमै गीतले धेरै दर्शक तथा स्रोताको मन जित्न सफल भएको देखिएको छ । गायिका रचना रिमालले भनिन्, “तीजको अवसरमा यस्तो गीतमा स्वर दिन पाउँदा निकै खुसी लागेको छ। दर्शक-श्रोताले यस्तै मौलिकपन मन पराउनुहुन्छ भन्ने विश्वास छ।”




