भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’ को दोस्रो गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ । ललितपुरको लाबिम मलमा आयोजित कार्यक्रममा यो रमाइलो गीत सार्वजनिक गर्दै फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लाई एक विशुद्ध धनाढ्य अवतारमा प्रस्तुत गरिएको छ ।
गीतमा बाबुल गिरी को स्वर, शब्द र संगीत रहेको छ भने बाल गायक रोनिश खड्का को आवाजले गीतमा थप ऊर्जा दिएको छ । गीतको भिडियोमा केदार घिमिरेसँगै विल्सन विक्रम राई (तक्मे बुढा) को पनि विशेष उपस्थिति देख्न सकिन्छ । फिल्मका लेखक सामिप्यराज तिमिल्सिना का अनुसार ‘माग्ने राजा’ पैसाकै कथा हो र गीतले पनि त्यही विषयवस्तु उजागर गर्छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा हेलिकप्टर चढ्ने, नोटमा सुतेर हिँड्ने जस्ता दृश्यले दर्शकलाई हसाउने छन् । ऋषि लामिछाने निर्देशित यस फिल्ममा मधुसूदन शर्मा को लगानी, नरेन्द्र मैनाली को छायांकन र मित्र डी गुरुङ को सम्पादन रहेको छ । मुनाल घिमिरे को प्रस्तुति रहेको यो फिल्म आरम्भ प्रोडक्सन को ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल र मिस पबीको प्रमुख भूमिका रहेको छ । दीपक शर्मा र बाबुल गिरी को संगीत, कविराज गहतराज र गम्भीर विष्ट को कोरियोग्राफी तथा रोशन श्रेष्ठ को एक्सन निर्देशन यस फिल्ममा समावेश छन् । टिजरबाटै सकारात्मक प्रतिक्रिया पाइरहेको ‘माग्ने राजा’ दर्शकलाई मनोरञ्जनको भरपुर डोज दिन आउनेछ ।




