फिल्म पुर्ण बहादुरको सारंगी फेम्ड निर्देशक सरोज पौडेलको निर्देशन रहेको फिल्म लाई यतिबेला निक्कै महत्वकांक्षी फिल्मको रुपमा हेरिएको छ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कोशेढुंगा’ ले तीज पर्व लक्षित गर्दै आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ शीर्षकको उक्त गीत आज एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
सेभेन सिज इन्टरनेशनलको युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा नेत्र अर्यालको शब्द, हुकलाइन खेम सेन्चुरीको रहेको छ । खेमकै संगीतमा समीक्षा अधिकारी, दीपिका बयम्बु र खेम सेन्चुरीकै स्वर रहेको यस गीतलाई तीजको पारम्परिक लय र आधुनिक रंग संयोजनमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार नीति शाह र सुरक्षा पन्त अविवाहित महिलाको भूमिकामा देखिएका छन् भने अभिनेत्री ऋचा शर्मा विवाहित महिलाको भूमिकामा प्रस्तुत भएकी छन् । https://www.youtube.com/watch?v=TYAJUABdVgE
भिडियोमा तिनै पात्रहरूले तीजको सांस्कृतिक भावनालाई आत्मसात गर्दै आफ्नै शैलीमा नृत्य गरेको देख्न सकिन्छ । फिल्ममा आर्यन सिग्देल, मञ्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । नरदेवी फिल्मस्को प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा निर्माण भएको ‘कोशेढुंगा’ मा प्रेविल कँडेल र किशोर अनुराग को लगानी रहेको छ । दिनेश खड्का कार्यकारी निर्माता हुन् ।
फिल्मको छायांकन बाबुल श्रेष्ठले गरेका हुन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । आशिष अविरल र रिदम कँडेलको संगीत फिल्ममा रहेको छ । निर्माण पक्षका अनुसार ‘कोशेढुंगा’ नेपालसँगै विश्वका ४० देशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ, जसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ सम्भावना देखाएको छ ।




