आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । गीतमा मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र संगीतकार बाबुल गिरीलाई देख्न सकिन्छ । गीतमा बाबुल गिरीकै संगीत र स्वर रहेको छ भने गोविन्द भट्टले शब्द लेखेका छन् ।
यही गीतको अंश अघिल्लो टिजरमा समेटिएपछि टिकटक र फेसबुकमा भाइरल भएको थियो। दर्शकको उत्साहलाई मध्यनजर गर्दै निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो । निर्देशक राज बहादुर सानेद्वारा निर्देशित यो सिनेमा नेपाली समाजमा व्याप्त कुसंस्कारलाई चिर्ने प्रयासका रूपमा ल्याइएको बताइएको छ । सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले पनि यसै फिल्मबाट डेब्यु गरेका छन् ।
तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मसको सहकार्यमा बनेको सिनेमामा प्रदीप भारद्धाज र राज बहादुर सानेको कथा रहेको छ। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कार्की र विकास जोशी निर्माता छन् । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, देव र शंकर महर्जनको द्वन्द्व निर्देशन, तथा राजेन्द्र मोक्तान र मुकेश शाहको प्राविधिक सहयोग रहेको छ ।




