स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनीत चर्चित फिल्म ‘कहाँ भेटिएला’ को नामबाट फेरि नयाँ फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालिले सोही नाम दोहोर्याउँदै नयाँ प्रस्तुति ल्याउन लागेको हो । चलचित्र विकास बोर्डबाट निर्माणको लागि अनुमति लिइसकेको यस फिल्मको निर्माता तथा निर्देशक मिलन तामाङ रहेका छन् ।
फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकारको अभिनय रहने उल्लेख गरिएको छ । करिब एक दशकअघि निर्माण भएको मूल फिल्म ‘कहाँ भेटिएला’ मा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का मुख्य भूमिकामा थिए ।
स्वर्गीय निर्देशक शिव रेग्मीको निर्देशन रहेको उक्त फिल्मले श्वेता खड्कालाई नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीका रूपमा पहिलोपटक प्रस्तुत गरेको थियो । हाल निर्माण हुन लागेको फिल्मले नाम उही राखे पनि कथावस्तु नयाँ हुने अनुमान गरिएको छ, यद्यपि फिल्मको विषयवस्तु र कथावस्तु बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।




