यही ‘साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाहरूको संघर्ष, पीडा र यथार्थ कथा समेटिएको देखिन्छ । ट्रेलरका केही दिल चस्काउने दृश्यहरूले आतंककारीको कब्जामा परेका नेपालीहरूको पीडा दर्शाउँछन् । फिल्ममा अभिनेता प्रमोद चौलागाईंले बन्दी बनिएर नेपाल पठाएको भिडियो सन्देश समेत देखाइएको छ, जसले भावुकता थपेको छ ।
फिल्मका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भएको बताउँदै वैदेशिक रोजगारमा गएकाहरूको जीवनका कठिन पक्षहरूलाई वास्तविक रूपमा प्रस्तुत गरिएको बताएका छन् । फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन् भने छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=D2ZOkqfJ0IA
प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन तथा राजीव समरको कोरियोग्राफी रहेको छ । काफिया फिल्म्सले वितरण गर्ने फिल्मको छायांकन भारतको राजस्थान तथा नेपालका चितवन, काठमाडौँ र लेटाङमा गरिएको हो ।




