लोकप्रिय गायक आनन्द कार्कीले आफ्नो नयाँ गीत ‘मुसुक्क हाँसी लजाउने’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल भावनाले भरिएको यो गीतमा शब्द र संगीत म्यानमार निवासी अनिलले सिर्जना गरेका हुन् । गीतमा भकुब तामाङले संगीत संयोजन गरेका छन् भने होराइजन स्टुडियोमा मिक्सिङ तथा मास्टरिङ गरिएको हो। मीठो धुन र आकर्षक एरेन्जमेन्टसहित गीतले श्रोताको ध्यान खिच्न सफल भएको छ ।
गीतको म्युजिक भिडियोलाई वीरेन तितुङले निर्देशन गरेका छन्। निर्देशक तितुङकै अवधारणामा तयार पारिएको भिडियोमा गायक आनन्द कार्की आफैँसँगै एसराज गराच, छुल्ठिम गुरुङ र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कोरियोग्राफी नाम्गेल लामाले गरेका छन्। रोमान्टिक शैलीमा प्रस्तुत गरिएको भिडियोलाई दर्शकहरूले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
गायक कार्कीको सुमधुर स्वर, मार्मिक शब्द, र सशक्त प्रस्तुतिको समायोजनले गर्दा ‘मुसुक्क हाँसी लजाउने’ नेपाली संगीत प्रेमीहरूका लागि नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ ।




