असार २७ गते प्रदर्शनमा आउने फिल्म ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक फिल्मको २ मिनेट २० सकेण्ड लामो ट्रेलरमा नेपालको भूमि, भाषा, धर्म र संस्कृतिमाथि भइरहेको अतिक्रमण र त्यसलाई बचाउन नेपालीहरुले चलाएको अभियानलाई देखाइएको छ । मित्र प्रधान (नर)को निर्देशनमा निर्माण भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको अभिनय रहेको छ ।
भुटानी शासकबाट लखेटिएका भुटानीहरुको कथा पनि फिल्ममा समेटिएको छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादन रहेको छ ।
देशभक्ति पूर्ण भावनाको कथावस्तुमा निर्माण भएको फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने बताइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।




