विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड ‘दिउँला माया’ बोलको गीत रिलिज गरिएको हो । अभिनेता आशिर्वाद क्षेत्रीले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।
शरद शंकर र बेनिशा पौडेलको युगल स्वर रहेको गीतमा निर्देशक आचार्य स्वयंको शब्द रचना र गायक शंकरको संगीत छ । ‘नाई नभन्नू ’का सिरिज गीतको मामलामा अब्बल मानिन्छ । बैशाख १ गतेबाट प्रदर्शन आउने यस फिल्ममा आशिर्वाद र आँचलका अलवा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अर्थव उप्रेती लुईटेलको पनि मुख्य भूमिका छ । अथर्व नायक निखिल उप्रेति नायिका संचिता लुईटेलका छोरा हुन् । उनले यसै फिल्मबाट आफ्नो फिल्मि यात्रा तय गरेका छन् ।
‘नाई नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी भने यस पटक बिशेष भूमिकामा देखिनेछन् । यस फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको हो । निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् ।
हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।




